दफा २२
निर्वाह भत्ता दिने
(१) नेपाल सरकारले रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार उपलब्ध गराउन नसकेमा एक आर्थिक वर्षमा मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको एक सय दिन बराबरको रकमको पचास प्रतिशत रकम तोकिएको शर्तको अधीनमा रही निर्वाह भत्ता उपलब्ध गराउनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बेरोजगार व्यक्तिले एक आर्थिक वर्षमा एक सय दिनभन्दा कम अवधि मात्रै रोजगारी पाएमा एक सय दिन पुग्न बाँकी अवधिको मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको पचास प्रतिशत बराबरको रकम मात्र निर्वाह भत्ता उपलब्ध गराइनेछ।
(३) उपदफा (१) बमोजिम निर्वाह भत्ता प्राप्त गर्ने बेरोजगार व्यक्तिले तोके बमोजिमको शर्तको पालना गर्नु पर्नेछ।
(४) यस दफा बमोजिमको निर्वाह भत्ता देहायको अवस्थामा मात्र दिइनेछः–
(क)    परिवारको कुनै पनि सदस्यले तोकिए बमोजिमको रोजगारी नपाएमा,
(ख)    नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवारलाई,
(ग)     परिवारको कुनै पनि सदस्य स्वरोजगार नभएमा,
(घ)     परिवारको कुनै सदस्य वैदेशिक रोजगारीमा नगएकोमा।
     स्पष्टीकरणः “वैदेशिक रोजगारी” भन्नाले नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा काम गर्न गएको अवस्था सम्झनु पर्छ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी कोष वा अन्य मुलुक वा अन्तर्राष्ट्रिय वा अन्तरसरकारी सङ्घ, सङ्गठन वा अन्य कुनै संस्थाबाट नियमित निवृत्तभरण वा अवकाश सुविधा लिइरहेका वा सामाजिक सुरक्षा कोष वा नेपाल सरकारको सहायता सम्बन्धी अन्य कोषबाट वा रोजगारदाता नियमित रूपमा कुनै पनि किसिमको सहायता प्राप्त गरेको व्यक्तिको परिवारलाई निर्वाह भत्ता दिइने छैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सरकारी कोष” भन्नाले देहायको कुनै कोष सम्झनु पर्छः–
(क)    नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको सञ्चित कोष वा अन्य सरकारी कोष,
(ख)    नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएको स्थानीय संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठान वा यस्तै कुनै निकायको कोष,
(ग)     नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट प्राप्त अनुदानबाट सञ्चालित कोष,
(घ)     सार्वजनिक पद धारण गरेको व्यक्तिलाई निवृत्तभरण प्रदान गर्न प्रचलित कानून बमोजिम स्थापना भएको कोष।
(६) यस दफा बमोजिम प्रदान गरिने निर्वाह भत्ता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।